नक्कली नेपाली रुपैयाँसहित मकवानपुरबाट तीन जना पक्राउ
मकवानपुर । अवैध नक्कली नेपाली रुपैयाँसहित मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चुरियामाईबाट बिहीबार तीन जना युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा रौतहटको कटहरीया नगरपालिका वडा नम्वर ६ बस्ने अन्दाजी १९ वर्षीय धर्मेन्द्र महरा, सोही गाउँपालिका वडा नम्वर १ बस्ने २१ वर्षीय दिपेश दास र मकवानपुरको राक्सिराङ गाउँपालिका–२ बस्ने अन्दाजी ४० वर्षीय बिजय तामाङ रहेको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
उनीहरुलाई विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले नेपाली नक्कली रुपैयाँ एक हजारको दरले ९५ थानसहित पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, बिहीबार राति साढे ९ बजेको समयमा पैदलयात्री उनीहरुलाई शंका लागि चेकजाच गर्दा धर्मेन्द्र महराको साथबाट उक्त परिमाणको नक्कली नोट बरामद भएको थियो ।
बरामद भएको उक्त नोटबारे आवश्यक तथा सोधपुछ गर्दा आफुहरुले बिजय तामाङबाट लिएको बताएपछि प्रहरीले बिजयसहित तीनै जनालाई पक्राउ गरेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
