मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार १५:३६

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको मनहरी गाउँपालिका वडा नम्वर ६ खयरघारी र राक्सिराङ गाउँपालिका वडा नम्वर ३ दमारबाट लागूऔषधसहित एक–एक जनालाई पक्राउ गरेको हो ।

प्रहरीले मनहरी–६ बाट लागूऔषध गाँजा २ पनसहित स्थानीय नयाँबस्ती बस्ने अन्दाजी २९ वर्षीय सन्तलाल लामालाई पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी सुनाचुरीका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र रानाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बिहीबार ना ३२ प २९५५ नं.को मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकल चाकल सन्तलालले बोकेको कालो झोलामा उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो । साथै प्रहरीले उनको साथबाथ नगद ५९ हजार रुपैयाँ समेत बरामद गरेको छ ।

यस्तै, प्रहरीले राक्सिराङ–३ बाट बिहीबार राति लागूऔषध गाँजा १० पनसहित मनहरी–९ ज्यामिरे बस्ने ३८ वर्षीय टेकबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी चौकी चैनपुरक प्रहरी सहायक निरीक्षक राजेन्द्र साह तेलीको कमाण्डमा खटिएको गस्ति टोलीले पक्राउ गरेको हो ।

पक्रउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।