अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार ०८:५५
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, बर्दिला र झापा गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको गोदावरी नगरपालिका–२ तेघरी डेरा गरी बस्ने डडेल्धुरा नवदुर्गा गाउँपालिका–२ बेडपानी घर भएका २९ वर्षीय निराजन बिष्टलाई अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम ५ सय ८६ मिलिग्रामसहित बुधबार बिहान पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई अत्तरिया बसपार्कबाट उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर ४ सय ३० मिलिग्रामसहित बाँके कोहलपुर नगरपालिका–४ नौलापुर बस्ने २७ वर्षीय प्रकाश थारूलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउदै गरेका साइकलयात्री थारूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, बर्दियाको मधुवन नगरपालिका–९ गाउँ नम्बर १४ बाट अवैध लागूऔषध ब्राउनसुगर ५ सय मिलिग्रामसहित गुलरिया नगरपालिका–१ बस्ने २३ वर्षीय पिताम्बर डाँगीलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी तारातालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको झापा गाउँपालिका–१ बेलातिवारीबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा झापा गाउँपालिका–२ कुवाडी बस्ने १९ वर्षीय शिव कामती र बिर्तामोड नगरपालिका–१ बस्ने २७ वर्षीय निश्चल लिम्बु रहेका छन् ।

ईलाका प्रहरी कार्यालय कुमरखोद र बिओपी टाघनडुब्बाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.३४ प ७८७६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।