माओवादीको विशेष अभियानको तयारी पूरा
काठमाडौं । नेकपा माओवादी केन्द्रको शनिबारदेखि सुरू हुने ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी पूरा भएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भव्य समारोहबीच चन्द्रागिरि–२ स्थित भट्टेडाँडाबाट अभियानको औपचारिक उद्घाटन गर्ने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
गत केन्द्रीय समिति बैठकबाटै माओवादीले ७५३ पालिकाको ६ हजार ७४३ वडामा एकसाथ अभियान सुरू गर्ने कार्यतालिका पारित गरेको थियो ।
जसअनुसार पदाधिकारी, स्थायी कमिटी, केन्द्रीय ससस्य, केन्द्रीय निकाय, सल्लाहकार समिति, प्रदेश कमिटी सदस्यहरू र जनवर्गीय संगठनलाई अभियानमा एकसाथ खटाएको छ ।
साउन (१७–२१) सम्म राजधानीको कमलादीमा बसेको बैठकले केन्द्रीय समिति बैठकले पदाधिकारीसहित सम्पूर्ण केन्द्रीय सदस्यहरूको कार्यविभाजन गर्दै तीन महिना वडामा खटाउने निर्णय गरेको थियो ।
केन्द्रीय सदस्यहरूलाई अन्तरजिल्ला पर्ने गरी कार्यविभाजन गरिएको छ । वडामा जाने अधिकांश सदस्यहरूको टुंगो लागेपनि केहीको टुंगो लाग्न बाँकी रहेको नेता श्रीराम ढकालले जानकारी दिए ।
उनका अनुसार वडामा जाने पदाधिकारीहरूको टुंगो लागिसकेको छ । माओवादीमा एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्षसहति चार उपाध्यक्ष, एक महासचिव, ६ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्ष रहेका छन् ।
जसअनुसार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शनिबार चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा सहभागी हुने तय भएको छ । उनी अभियानका अवधिमा सातै प्रदेशका एक–एक वडामा खटिने बताइएको छ ।
