नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिक पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार १५:१९
सांकेतिक तस्बिर

मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा नक्कली बुबा बनाई नेपाली नागरिकता लिन खोज्ने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत महाराजगञ्ज मधवलिययाका १९ वर्षीय राहुल कुर्मी रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रहरीका अनुसार, पक्राउ परेका कुर्मी हाल नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिका–९ अठलैयास्थित मामाघरमा बस्दै आएका थिए ।

वडाबाट जन्मदर्ता सिफारिस लिई नागरिकताका लागि प्रहरी सर्जमिन मुचुल्का लिन आएका कुर्मीलाई शङ्का लागि सोधपुछ गर्दा भारतीय नागरिक भएको पुष्टि भएपछि नियन्त्रणमा लिइएको हो ।

राहुलले प्रतापपुर–६ कठहवा बस्ने गौरीशङ्कर कुर्मीलाई बुबा बनाई नागरिकता लिन लागेका थिए ।

पक्राउ परेका कुर्मीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी नागरिकतासम्बन्धी कसुर उद्योगमा अनुसन्धान थालिएको जनाइएको छ ।