अवैध लागूऔषधसहित सात जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १२, मंगलवार १६:१३

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, काठमाडौं र बारा गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको टिकापुर नगरपालिका–६ नारायणपुरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय ६० मिलिग्रामसहित २ जनालाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय सुरज चौधरी र १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङको विराटनगर महानगरपालिका–१५ स्थित एक नम्बर ढाटबाट अवैध लागूऔषध ब्राउनसुगर करिब १ ग्राम ०२ मिलिग्रामसहित सप्तरी औरही गाउँपालिका–५ बस्ने २१ वर्षीय नितिश कुमार यादवलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यस्तै, काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ सय ९४ एम्पुल, फेनारगन १ सय ९६ एम्पुल र नुर्फिन २ सय एम्पुलसहित काठमाडौं महानगरपालिका–२४ मखनटोल बस्ने ५० वर्षीय अनिल महाजुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । वीरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको मधेश प्रदेश–०३–००१ ज ०३८५ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, बाराको कोल्हबी नगरपालिका–२ भलुवाहीखोरबाट अवैध लागूऔषध गाँजा ५ किलोसहित ३ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा निजगढ नगरपालिका–१३ बस्ने ३८ वर्षीय बलराम लामा, २७ वर्षीय अनिल लामा र ३५ वर्षीय शुकराम स्याङतान रहेका छन् । अस्थायी प्रहरी पोष्ट झुरझुरबाट खटिएको प्रहरीले तामागढीबाट कोल्हबीतर्फ आउँदै गरेको ना.२ ह १४०० नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।