अपहरणको नाटक गर्ने मकवानपुरका प्रजा पक्राउ
मकवानपुर । मकवानपुरमा आफै लुकिछिपी बसी अपहरणको नाटक गर्ने एक जनालाई प्रहरीले आइतबार पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको राक्सिराङ गाउँपालिका–५ बस्ने ४६ वर्षीय कुमार प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक सीताराम रिजालले जानकारी दिए ।
प्रजालाई आइतबार बिहान ५ बजे मनहरी गाउँपालिका वडा नम्बर ४ नयाँबस्तीस्थित सुर्यबहादुर प्रजाको घर नजिकैको अनुग्रह चर्चबाट पक्राउ गरिएको हो ।
प्रहरी उपरीक्षक रिजालका अनुसार, गत भदौ ३ गते बिहान साँढे ११ बजे आफ्नै घरबाट बेपत्ता भएको भन्दै प्रजाको श्रीमती आइतीमाया चेपाङले खोजतलास गरी पत्ता लगाई आवश्यक कारबाही गर्न प्रहरी कार्यालयमा हुलियासहितको निवेदन दिएकी थिइन् ।
कुमार र स्थानीय निर्मल भन्ने सानु बाबु रुम्बाबीचमा आर्थिक लेनदेन रहेको र दुवै जनाबिच वादविवाद भएकोमा निज निर्मल भन्ने सानु बाबु रुम्बाले आफ्नो श्रीमानलाई बेपत्ता पारी अपहरण गरेको हुनसक्ने भन्दै आइतीमायाले प्रहरी समक्ष बुझाइएको निवेदनमा उल्लेख गरेकी थिइन् । प्रहरीले पनि आइतीमायाले दिएको निवेदनको आधारमा कुमारको खोजतलास एवम् घटनाको बारेमा आवश्यक अनुसन्धान अगाडि बढाइएको थियो ।
सोही अनुसन्धानको क्रममा कुमारले आफ्नो श्रीमतीसहित परिवारका अन्य सदस्यहरुसँग टेलिफोन सम्पर्कमा रही आफन्तको घरमा लुकीछिपी बस्दै आएको खुल्न आएपछि निज (कुमार) लाई मनहरी–४ बाट फेला परी सोधपुछ गर्दा उल्टै प्रहरीलाई विभिन्न अश्लिल शब्दहरु प्रयोग गरी अभद्र व्यवहार गरेको हुँदा उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक रिजालले पत्रकार सम्मेलनमा जानकारी गराए ।
पक्राउ परेका कुमारमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाइएको छ ।
