जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार १७:१६

काठमाडौं । प्रहरीले काठमाडौंको विभिन्न स्थानबाट जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौंको बुढानिलकण्ठ र टोखा नगरपालिकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका–७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

दुवै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।