समाजवादी प्रेस संगठनको प्रदेश भेला असोजमा
काठमाडौं । समाजवादी प्रेस संगठनले आगामी असोजभित्र सातै प्रदेशमा भेलाको आयोजना गर्ने भएको छ । संगठनको शनिबार सम्पन्न केन्द्रीय कमिटीको बैठकले निर्धारित समयमा ती भेला सम्पन्न गर्ने निर्णय गरेको हो ।
बैठकले आमसञ्चार क्षेत्रलाई थप मर्यादित र व्यावसायिक बनाउन, श्रमजीवी पत्रकारका पारिश्रमिक वृद्धि गर्न तथा सामाजिक सुरक्षाको प्रत्याभूति गर्न एवम् श्रमजीवी पत्रकारको विभिन्न सञ्चारगृहमा पारिश्रमिक भुक्तानीमा देखिएको समस्या समाधान गर्न सरकारसँग माग गरेको छ ।
बैठकले संगठन सुदृढीकरणका सन्दर्भमा आइपर्ने विभिन्न समस्या निरुपण गर्न, केही रिक्त पदमा भूगोल, प्रदेशको सन्तुलन मिलाएर केही सदस्यलाई जिम्मेवारी तोक्न, आवश्यक रणनीति तय गर्न पदाधिकारी बैठकलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।
