इन्जिनियरिङको शुल्क वृद्धि फिर्ता लिन नेविसंघको माग

तु खबर संवाददाता
२०८० भाद्र ६, बुधबार १८:०७

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) ले इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङको स्नातक तह अध्ययनका लागि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन माग गरेको छ ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै संघका अध्यक्ष दुजाङ शेर्पाले इन्जिनियरिङ अध्ययन संस्थानले बढाएको शुल्क तत्काल फिर्ता लिनुपर्ने बताएका हुन् ।

संस्थानले भदौ ४ गते सूचना निकालेर इन्जिनियरिङतर्फ स्नातक तहका शुल्क वृद्धि गरेको जनाएको थियो । हालको शुल्कमा वृद्धि गरेर ७ लाख ७५ हजार ४२० रुपैयाँ पुर्याइएको छ ।

अध्यक्ष शेर्पाले पैसा छैन भनेर चर्को शुल्क लिन खोज्ने र त्रिविका पदाधिकारीदेखि संस्थानको डीन विदेश भ्रमणमा जाने गरेको बताए । साथै उनले तीन दिनभित्रमा शुल्क वृद्धि फिर्ता नभए कडा आन्दोलन गर्ने चेतावनी समेत दिए ।

शुल्क वृद्धि फिर्ता नलिए प्रचण्ड निवासमा गएर आन्दोलन गर्ने उनले पत्रकार सम्मेलनमा जानकारी गराए ।

नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले पनि उक्त संस्थानले वृद्धि गरेको अध्ययन शुल्क फिर्ता लिन माग गरेको छ । अनेरास्ववियुले संस्थानले स्नातक तह अध्ययनका लागि गरेको शुल्क वृद्धि तत्काल फिर्ता लिन मागगर्दै बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।