सामाजिक सञ्जालमार्फत चरित्र हत्या गरेको आरोपमा पक्राउ
काठमाडौं । सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अर्घाखाँची भुमिकास्थान नगरपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–१९ कुमारिपाटी बस्ने २९ वर्षीय तुफान केसी रहेका छन् ।
प्रहरीका अनुसार, फेसबुक म्यासेन्जरमा आएको भिडियो कल चिनजानकै व्यक्तिको भनि रिसिभ गर्दा अश्लीलता प्रदर्शन गरेको र यस्ता गतिविधि नगर्न आग्रह गर्दा पीडितकै फेसबुकमा पोष्ट गरेका तस्विरहरूमा अश्लील र अपमानजनक शब्दहरू प्रयोग गरी चरित्रहत्या गरेको उनीविरुद्ध उजुरी परेको थियो ।
प्रहरीले सोही उजुरीको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा केसीको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको छ ।
