अवैध लागूऔषधसहित आठ जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ५, मंगलवार १६:१७

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्रामसहित घोडाघोडी नगरपालिका–१० बस्ने २३ वर्षीय उमेश चौधरीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, झापाको मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुल अगाडिबाट अवैध लागूऔषध खैरो हेरोईन २ ग्राम ५ सय मिलिग्रामसहित दमक नगरपालिका–९ बस्ने ३० वर्षीय रमेश सिवालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी झापाको बिर्तामोड नगरपालिका–३ मेची आँखा अस्पताल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर ४ ग्राम ५ सय मिलिग्राम र नगद ७६ हजार ३ सय १५ रूपैयाँसहित सोही ठाउँ बस्ने ३४ वर्षीय रोसन राजवंशी समेत २ जनालाई सोमबार राति प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, प्रहरीले दाङको घोराही उपमहानगरपालिका–४ सिस्ने खोलाबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय १० मिलिग्रामसहित सोही उपमहानगरपालिका–१४ घर भएका ३८ वर्षीय राजु रोकामगर र सोही उपमहानगरपालिका–४ बस्ने २० वर्षीया सविता नेपालीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–४ सिस्ने खोला बस्ने सोमराज रैदासको घरमा लागूऔषध बिक्री भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट चौघेराबाट खटिएको प्रहरीले तलासी गर्दा उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यसैगरी, दाङको घोराही उपमहानगरपालिका–१७ भैसाही चोकबाट रा.३ प ६३३८ नम्बरको मोटरसाइकल चालक सोही उपमहानगरपालिका–१४ खोली गाउँ बस्ने ३२ वर्षीय शुशिल गहतराजलाई अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्रामसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

त्यस्तै, सुर्खेत, भेरीगंगा नगरपालिका–१२ छिन्चु बजारबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ८९ मिलिग्रामसहित गुर्भाकोट नगरपालिका–१३ बस्ने १९ वर्षीय सनिम सिरिषलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

ती सबै घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ ।