बालसुधार गृहबाट भागेकामध्ये ८६ जना ‘नाबालक बन्दी’ पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार १८:२५

काठमाडौं । भक्तपुरको सानोठिमीस्थित बालसुधार गृहबाट भागेकामध्ये ८६ जना नाबालक बन्दीहरूलाई प्रहरीले बानेश्वर क्षेत्रबाट पक्राउ गरेको छ ।

प्रहरीले बालसुधार गृहबाट भागेका २२१ जनामध्य उनीहरूलाई भक्तपुरबाट आउँदै गर्दा कोटेश्वर, तीनकुने र नयाँ बानेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएका ८६ जनालाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको छ । बालसुधार गृहमा ‘नाबालक बन्दी’ को कमल बस्नेतको मृत्यु भएको घटनाको विषयमा प्रदर्शन हुँदा झडप भएको थियो । झडपको क्रममा नाबालक बन्दीहरू भागेका हुन् ।

रामेछापको मन्थली नगरपालिका घर भएका १८ वर्षीय बस्नेतको आइतबार बिहान मृत्यु भएको थियो । अदालतको आदेशले बस्नेत २०७७ सालदेखि बालसुधार गृहमा थिए । मृतकको शव पोष्टमार्टमका लागी काठमाडौँ मेडिकल कलेजमा पठाइएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।