अवैध लागूऔषधसहित पाँच जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र ४, सोमबार १६:११
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली र झापा गरी दुई छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईनसहित ४ जनालाई आइतबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका–१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका–१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका–७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका–१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले झापाको मेचीनगर नगरपालिका–६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका–६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई आइतबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

प्रहरीले ती सबै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।