रास्वपाद्वारा प्रदेश र जिल्ला अनुशासन आयोगका लागि आवेदन माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पदाधिकारी र सदस्यको आवेदन माग गरेको छ ।
रास्वपाले साउन ३० मा प्रदेश र जिल्ला अनुशासन आयोग गठनका लागि पार्टीको प्रदेश, जिल्ला, पालिका र वडाको नेतृत्वलाई परिपत्र गरी सात दिनभित्र आवेदन दिन माग गरेको हो ।
पार्टी सदस्यता लिएकामध्येबाट खुल्ला आवेदन माग गरी पदपूर्ति गर्ने सूचना जारी गरिएको रास्वपा अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटाले जानकारी दिए ।
रास्वपाको नियमावलीअनुसार प्रदेश अनुशासन आयोग ५ सदस्यीय हुनेछ । जसमा प्रदेश प्रमुख, उपप्रमुख, सचिव र २ जना सदस्य हुने व्यवस्था छ ।
देवकोटाका अनुसार, पदाधिकारीहरू कम्तीमा स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने र प्रत्येक प्रदेशमा एक जना महिला र एक जना कानूनमा स्नातक गरेको हुनुपर्ने छ ।
यस्तै, जिल्ला अनुशासन समिति ३ सदस्यीय हुनेछ । जसमा एक जना प्रमुख र दुई जना सदस्य रहने व्यवस्था गरिएको छ । प्रमुखको हकमा स्नातक गरेको हुनुपर्ने र सदस्यमध्ये एक जना कानूनको क्षेत्रमा अध्ययन र अनुभव भएको हुनुपर्ने छ । त्यसमा रास्वपाले महिलालाई प्राथमिकता दिएको छ ।
