सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ आज पनि स्थगित

तु खबर संवाददाता
२०८० श्रावण ३२,बिहीबार १६:२१
file-photo

काठमाडौं । जिल्ला अदालत काठमाडौंमा बिहीबार हुने भनिएको सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ स्थगित भएको छ । केही कागजातका विवरण अस्पष्ट भएपछि पुनः माग गर्नुपर्ने भन्दै सुनुवाइ स्थगित गरिएको अदालत स्रोतले जनाएको छ ।

क्रिकेटर सन्दीप लामिछानेले आफूलाई बलात्कार गरेको भन्दै एक किशोरीले गत वर्ष भदौमा जाहेरी दिएकी थिइन् । सो मुद्दामा जिल्ला अदालत काठमाडौंमा भएको सुनुवाइ पटक–पटक सरेका कारण हालसम्म अन्तिम फैसला आएको छैन ।

यसअघि नाबालिक बलात्कार मुद्दाको थुनछेक बहसका क्रममा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । तर, उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

सर्वोच्च अदालतले भने लामिछानेलाई विदेशका प्रतियोगितामा भाग लिन जान पाउने आदेश दिएको थियो ।