माओवादीले विशेष अभियानका लागि केन्द्रदेखि वडासम्म जिम्मेवारी तोक्यो
काठमाडौं । नेकपा माओवादी केन्द्रले घोषणा गरेको ‘जनतासँग माओवादी रूपान्तरण विशेष’ तीन महिने अभियानलाई सफल बनाउनका लागि प्रदेश इञ्चार्जहरुले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ ।
आगामी भदौ १६ गतेदेखि सुरु हुने अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरु र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान संचालन सचिवालय गठन गरी संचालन गर्ने व्यवस्था गरिएको हो ।
अभियान संचालन सचिवालयमा प्रदेश सभाका दल नेताहरु नपरेमा, दल नेताहरुलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ ।
अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरुलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरुको प्रकृति अनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर संचालन गर्ने व्यवस्था गरिएको छ ।
यस्तै, वडा केन्द्रित अभियानको नेतृत्व केन्द्रीय सदस्य/आयोग सदस्य/सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।
एउटा अभियान टोलीको जिम्मामा १०/११ वडाहरु पर्न सक्नेछन् । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरुको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ ।