हेटौंडाका घलानसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित गएराति तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ किलोसहित तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाणी बस्ने २९ वर्षीय भिमबहादुर घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गएराति १० बजेको समयमा पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा–१५ स्थित रातोमाटेमा हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बीआर ०५ एच ५११६ नम्वरको भारतीय बोलेरो गाडीलाई रोकी चेकजाँच गरिएको थियो ।
चेकजाँचको क्रममा बोलेरोमा लुकाईछिपाई ल्याएको उक्त परिमाणको गाँजा बरामद भएपछि प्रहरीले बोलेरो चालक सत्यमकुमार र बोलेरोमा सवार पुरका प्रसादलाई पक्राउ गरिएको थियो । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्दा उक्त लागूऔषध बिक्रिबितरण गर्ने हेटौंडाका भिमबहादुर घलान रहेको खुल्न आएको र उनलाई हेटौंडा–१, लोकप्रियमोडबाट पक्राउ गरियो ।
घलानलाई पक्राउ गरी उनको घरकोठामा गई खानतलासी गर्दा लागूऔषध चरेश ६० ग्राम फेला परेको र निज तीनै जनालाई पक्राउ गरेको मकवानपुरका प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
पक्राउ परेका उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
