मकवानपुर प्रहरीद्वारा गाँजासहित एक युवती पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शनिबार दिउँसो एक युवतीलाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ५ किलोसहित हेटौंडा–१५ रातोमाटेबाट एक युवतीलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका घर बताउने अन्दाजी २२ वर्षीया नानु घलान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, शनिबार नारायणगढबाट वीरगंजतर्फ जाँदै गरेको ना.८ ख ७३४६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनको साथबाट उक्त परिमाणको गाँजा बरामद भएपछि निजलाई पक्राउ गरिएको हो ।
उनलाई प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।
