जसपाद्वारा गौर हत्याकाण्डबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न माग
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले गौर हत्याकाण्डबारे सर्वपक्षीय उच्चस्तरीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन माग गरेको छ । जसपाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी यस्तो माग गरेका हो ।
साथै सो पार्टीले पछिल्लो पटक सरकार र गौर हत्याकाण्डका पीडितहरु बिच भएको सम्झौताप्रति आपत्ति जनाएको छ ।
जसपाले गौर हत्याकाण्डबारे नेपाल सरकारले गठन गरेको सर्वोच्च अदालतका तत्कालीन बहालवाला न्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठिन उच्चस्तरीय न्यायायिक छानबिन समितिको प्रतिवेदन, राष्ट्रिय मानवअधिकार आयोग, तत्कालीन जिल्ला प्रशासन र प्रहरीले सरकार समक्ष बुझाएका प्रतिवेदन, पाटन पुनरावेदन अदालतका न्यायाधीश र सुरक्षा निकायका अधिकारीहरु रहेको जाँचबुझ आयोग लगायतले बुझाएको प्रतिवेदन यथाशीघ्र सार्वजनिक गर्न माग गरेको छ ।
२०६३ सालमा गौरमा तत्कालीन माओवादी र मधेशी जनअधिकार फोरमबीच भएको झडपमा २७ जनाको मृत्यु् भएको थियो । सोही घटनाका पीडकहरुलाई कारबाहीको माग गर्दे पीडितहरुले आन्दोलन गरेपछि केहीदिन अघि सरकार र पीडितहरुबीच दोषीलाई कारबाही गर्ने सहमति भएको थियो ।
