अवैध लागूऔषधसहित ११ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २५, बिहीबार १७:४२
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट अवैध लागूऔषधसहित ११ जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा, मोरङ, कैलाली, बर्दिया र तनहुँ गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले झापाको दमक नगरपालिका–१ सतासीमार्गबाट अवैध लागूऔषध ब्राउनसुगर १ ग्राम र डिजिटल तराजु १ थानसहित २ जनालाई बिहीबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने सोही नगरपालिका–३ घर भएका २७ वर्षीय राजु बुढाथोकी र उनकै श्रीमती २८ वर्षीया सम्झना विश्वकर्मा बुढाथोकी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यता, मोरङको विराटनगर महानगरपालिका–११ महेन्द्र चोकबाट नियन्त्रित लागूऔषध ट्राईस्पास १ सय ९५ पिससहित प्रहरीले सोही महानगरपालिका–९ बस्ने ३६ वर्षीय राजु सहनीलाई बिहीबार बिहान पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले जाँच गर्दा सहनीलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले कैलालीको धनगढी उपमहानगरपालिका–१४ खुटियाघाटबाट अवैध लागूऔषध चरेश ४ किलो ३० ग्रामसहित २ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा प्युठान लुङ गाउँपालिका–७ बस्ने ४२ वर्षीया मिना बुढाथोकी र रुकुम (पश्चिम) बासिकोट गाउँपालिका–७ बस्ने ३९ वर्षीय भिमसेन खत्री रहेका छन् । ईलाका प्रहरी कार्यालय बहुलिया कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–४ बुढीतोलाबाट अवैध लागूऔषध खैरो हेरोईन १३ ग्राम र नगद ५३ हजार रूपैयाँसहित डोटी जोरायल गाउँपालिका–२ बस्ने २८ वर्षीय मिनबहादुर मालीलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहाबाट अवैध लागूऔषध ब्राउनसुगर २ सय मिलिग्रामसहित प्रहरीले बाँके कोहलपुर नगरपालिका–७ बस्ने २८ वर्षीय अरूण चौधरी समेत ४ जनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । उनीहरूले प्रयोग गरेको १ थान मोटरसाइकल र १ थान साइकल प्रहरीले बरामद गरेको छ ।

उता, तनहुँको ब्यास नगरपालिका–४ भोर्लेटार चोकबाट प्रहरीले अवैध लागूऔषध गाँजा करिब १ केजी ९ सय ग्रामसहित सोही नगरपालिका–१० बोक्सीगैरा बस्ने १९ वर्षीय चन्द्रबहादुर विकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

ती सबै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।