नेकपा बहुमत पार्टीको नाममा चन्दा उठाउने पक्राउ
दाङ । दाङमा नेकपा बहुमत पार्टीको नाममा धाक धम्की दिई चन्दा उठाउने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सल्यानको त्रिवेणी गाउँपालिका– ९ फलावाङका हाल त्रिबेणी–४ बस्ने ३३ वर्षका धनराज तुफान भनिने धनबहादुर परियार र छत्रेश्वरी गाउँपालिका–१ दमाचौर बस्ने २९ वर्षीय चन्द्र प्रकाश बिक रहेका छन् ।
उनीहरुलाई जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–९ बेलुवाबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरुले विगतदेखि नै विभिन्न ठाउामा डरधाक धम्की दिई पार्टीको नाममा चन्दा उठाउँदै आएको थिए । बुधबार साँझ पनि पार्टीको नाममा चन्दा उठाइरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका बिक र परियाले यसअघि गत ३ चैत २०७९ मा तुलसीपुर–६ रजौरा स्थित हिमाल एकाडेमीका प्रिन्सीपल मधसुदन केसीलाई १० लाख चन्दा मागेका थिए ।
यस्तै साउन १८ गते कपुरकोटस्थित कालिका माविका शिक्षक बामदेव अधिकारीलाई ५ लाख, साउन २७ गते तुलसीपुर–१८ स्थित बेलझुण्डी माविकी शिक्षिका जानका बस्नेतलाई १ लाख, २१ चैत २०७९ मा तुलसीपुर–७ बुढागाउँ पर्सेनीका पूर्व शिक्षक इन्द्रबहादुर वलीलाई १ लाख रुपैयाँ उनीहरुले चन्दा माग गरेका थिए ।
उनीहरुले पत्र पठाउँदै चन्दा मग गर्ने र चन्दा माग गरेको कसैलाई भन्ने वा प्रहरीलाई खबर गरेमा अप्रिय घटना समेत घट्न सक्नेसमेतको चेतावनी दिने गरेको प्रहरीले जनाएको छ ।प्रहरीले परियार र बिकको साथबाट कम्युनिष्ट पार्टी बहुमतको नामको लेटरप्याड, स्ट्याम्प छाप, मधुसुदन केसी, कमल शर्मा र सविना ढकालको नाममा आर्थिक सहयोगको लागि लेखिएको पत्र, मोबाइल, विभिन्न व्यक्तिको फोटो बरामद गरेको छ ।
