मकवानपुर पहिरो अपडेट : फेला परेको शव पोस्टमार्टमको लागि हेटौंडा ल्याइयो
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिका वडा नं.५ सिक्रेदोभानमा पहिरोमा परी बेपत्ता भएकामध्ये आज फेला परेको दुई जनाको शव हेटौंडा अस्पतालमा ल्याइएको छ ।
मंगलबार फेला परेको स्थानीय ६० वर्षीय अक्कलबहादुर स्याङ्तान र उनकी छोरी २२ वर्षीया शिला पहरीको शव पोस्टमार्टमको लागि हेटौंडा अस्पतालमा ल्याइएको इलाका प्रहरी कार्यालय फापरबारीका प्रहरी वरिष्ठ नायव निरीक्षक अर्जुन देवकोटाले जानकारी दिए ।
उनका अनुसार, उनीहरुको शव सिन्धुली जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्वर १ कोकरेस्थित बागमती नदीको बिच बगरमा फेला परेको हो ।
सोही पहिरोमा परेर अझै तीन जना बेपत्ता रहेका छन् । बेपत्ता हुनेहरुमा मृतक अक्कलबहादुरको ज्वाई २५ वर्षीय जिबन पहरी, नाती ४ वर्षीय मिलन पहरी र नातिनी डेढ वर्षीय दिब्या पहरी रहेका छन् । प्रहरी र स्थानीयको सहयोगमा बेपत्ताहरूको खोजी कार्य भइरहेको उनले बताए ।
