राष्ट्र बैंकद्वारा तीन वटा बैंक कारबाहीमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् ।
गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानूनको बाहिर गएर वित्तीय कारोबार गरेको भन्दै ती बैंकहरुलाई कारबारही गरिएको हो ।
कारबाहीमा परेकामध्ये कुमारी बैंकले गत आर्थिक वर्षको माघ महिनामा तोकिएको कर्जा/निक्षेप अनुपात (सीडी रेसियो) कायम नगरेको भन्दै केन्द्रीय बैंकले बैंकमाथि ५९ लाख ६३ हजार ६९४ रुपैयाँ २२ पैसा जरिवाना गरेको छ ।
यस्तै, कात्तिक महिनाको सीडी रेसियो कायम नगरेको भन्दै केन्द्रीय बैंकले हिमालयन बैंकलाई १ करोड ३९ लाख ४७ हजार २८ रुपैयाँ २४ पैसा जरिवाना गरेको छ ।
अर्को प्राइम कमर्सियल बैंकले भने केन्द्रीय बैंकको निर्देशन बमोजिम कायम गर्नेपर्ने कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, क्यापिटल एकुरेसी फ्रेमवर्क, २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेकोले बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) लाई सचेत गराइएको केन्द्रीय बैंकले जनाएको छ ।