मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
काठमाडौं । मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले आइतबार काठमाडौंको सामाखुशीबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उदयपुरको ताप्लिङ गाउँपालिका–२ घर भई हाल काठमाडौं महानगरपालिका–६ बस्ने ३८ वर्षीय रविन्द्र राई रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, राइले १ जनालाई वैदेशिक रोजगारका लागि मलेसिया पठाइ आकर्षक तलबमा काम लगाइदिन्छु भन्दै पीडितबाट पटक–पटक रकम लिई सम्पर्क बिहीन भएको भनि पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि उनलाई पक्राउ गरिएको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको जनाइएको छ ।
