अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार १७:४१
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले जुम्ला, सर्लाही, कैलाली, चितवन र झापा गरी पाँच छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले जुम्लाको चन्दननाथ नगरपालिका–६ विजयनगरबाट अवैध लागूऔषध ब्राउनसुगरसहित ११० मिलिग्रामसहित सोही नगरपालिका–१० बस्ने १८ वर्षीय किशोरसमेत २ जनालाई शनिबार दिउँसो पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरको हो ।

उता, सर्लाहीको मलंगवा नगरपालिका–१ स्थितबाट अवैध लागूऔषध गाँजा करिब ५ किलोसहित सोही नगरपालिका–८ बस्ने २७ वर्षीय सरोज साहलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गोरखकाली र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट खुटौनाबाट खटिएको संयुक्त टोलीले भारततर्फ जाँदै गरेका उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेल नजिकबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ३ सय ३० मिलिग्रामसहित गोदावरी नगरपालिका–५ बस्ने २९ वर्षीय दिपक रानालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१०१० प ४५३७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा ऐनाभित्र लुकाई ल्याएको उक्त लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

यसैगरी, कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियाबाट अवैध लागूऔषध खैरो हिरोईन ८ सय २० मिलीग्रामसहित सोही नगरपालिका–२ तेघरी बस्ने २७ वर्षीय तेज बहादुर खड्का समेत ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

यता, चितवनको रत्ननगर नगरपालिका–२ टाँडीचोकबाट अवैध लागूऔषध चरेश करिब ५ किलो १ सय ग्रामसहित धादिङ थाक्रे गाउँपालिका–३ बस्ने ३२ वर्षीय भिमलाल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टाँडीबाट खटिएको प्रहरीले बा.८७ प २१०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै, प्रहरीले झापाको झापा गाउँपालिका–४ सुकुमबासी बस्तीबाट अवैध लागूऔषध ब्राउनसुगर करिब २ ग्राम ४ सय ५० मिलिग्रामसहित ईलाम मङसेबुङ गाउँपालिका–९ बस्ने ३० वर्षीय युवराज लिम्बुलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी टाघनडुब्बाबाट र सशस्त्र प्रहरी बल बोर्डर आउटपोष्ट पन्थपाडाबाट संयुक्त रुपमा खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सवै घटनाका विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।