अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १८, बिहीबार १६:५४

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, काठमाडौं र ललितपुर गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले कञ्चनपुरको भिमदत्त नगरपालिका–१० ब्यारेलबाट अवैध लागूऔषध खैरोहेरोईन ७ ग्राम ५७ मिलिग्रामसहित सोही नगरपालिका–१८ बस्ने २० वर्षीय भुवन खुनालाई बुधबार दिउँसो पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरीले उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

उता, कैलालीको धनगढी उपमहानगरपालिका–४ बसपार्क डेरा गरी बस्ने अछाम मंगलसेन नगरपालिका–१ घर भएका २३ वर्षीय रमेश रानालाई ५ ग्राम र धनगढी उपमहानगरपालिका–४ बोराडाडी बस्ने २५ वर्षीय बिज्ञान बस्नेतलाई ७ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो महेन्द्रनगर र जिल्ला प्रहरी कार्यायल कैलालीबाट खटिएको प्रहरीले रानालाई धनगढी उपमहानगरपालिका–३ त्रिनगर ब्यारेलबाट र बस्नेतलाई सोही उपमहानगरपालिका–२ मिलनचोकबाट पक्राउ गरेको हो ।

यसैगरी, प्रहरीले काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–५ थलीबाट नियन्त्रित लागूऔषध प्रोमेथाजाइन ३२ एम्पुल, बुप्रोनोर्फिन ३२ एम्पुल र डाईजेपाम ३२ एम्पुल, ७ थान सिरिन्ज र नगद १० हजार रूपैयाँसहित बुधबार दिउँसो २ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कागेश्वरी मनोहरा नगरपालिका–६ मुलपानी बस्ने सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ भोटेचौर भएका ३१ वर्षीय शालिकराम खतिवडा र रामेछाप गोकुल गंगा गाउँपालिका घर भएका ३० वर्षीय सुविन सुनुवार रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग साँखुबाट खटिएको प्रहरीले बा.७७ प १५३० नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका–२५ सातदोबाटोबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, डाईजेपाम १० एम्पुल र फेनारगन १० एम्पुलसहित ३ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर घर भई हाल ललितपुरको धापाखेल बस्ने २४ वर्षीय दिपेश कार्की, सिन्धुली मरिण गाउँपालिका–३ घर भई हाल ललितपुर धापाखेल बस्ने २२ वर्षीय दिपेश तामाङ र सिन्धुपाल्चोक निशंखु गाउँपालिका घर भई भक्तपुर बस्ने २६ वर्षीय सजन तामाङ रहेका छन् ।

यसैगरी, प्रहरीले ललितपुरको ललितपुर महालक्ष्मी नगरपालिका–३ टिकाथली झोलुङगे पुल नजिकबाट नियन्त्रित लागूऔषध भेनस १० पिस, स्पास्पेन १० पिस र वरनेकस १ पिससहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले रौतहट बडियापुर नगरपालिका–८ घर भई हाल ललितपुर इमाडोल बस्ने २१ वर्षीय रतन जी लाई पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त सातदोबाटो समेतबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गर्नुका साथै घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।