एमालेको अवरोधपछि राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध कायम राखेपछि राष्ट्रिय सभा बैठक स्थगित भएको छ । प्रमुख प्रतिपक्ष दल एमालेले सय किलो सुन तस्करी प्रकरणमा विभिन्न माग गर्दै अवरोध जनाएपछि राष्ट्रिय सभा बैठक साउन २२ गते दिउँसो १ बजेसम्मको लागि स्थगित भएको हो ।
एमालेले उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् अघि बढ्न नसक्ने अडानसहित आजको राष्ट्रिय सभा बैठकमा पनि संसद् अवरोध गरेको हो ।
बैठकमा बोल्दै नेकपा एमाले राष्ट्रिय सभाका संसदीय दलका उपनेता भैरवसुन्दर श्रेष्ठले सरकारले सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने बताए । उनले विमानस्थलबाट त्यत्ति ठुलो मात्रामा भएको सुन तस्करीका कारण अन्तर्राष्ट्रिय स्तरमा नेपालको इज्जतमाथि दाग लागेको बताए ।
उनले सत्यतथ्य छानबिनका लागि उच्चस्तरीय छानबिनको माग गर्दै सरकार दोषीलाई कारबाही गर्न उच्चस्तरीय छानबिन समिति बनाउन तयार नभएसम्म संसद् अघि बढ्न नसक्ने स्पष्ट पारेका थिए ।
