असोजमा जिल्ला अधिवेशन गर्ने युवा संघ मकवानपुरको निर्णय
मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल, मकवानपुरले आगामी असोजमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ । संघको ४ महिने अभियान अन्तर्गत हेटौंडामा सम्पन्न जिल्ला कमिटीको पदाधिकारी बैठकले सो निर्णय गरेको हो ।
बैठकले आगामी असोजको १३ र १४ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । यस्तै, बैठकले अधिवेशन सम्पन्न गर्न बाँकी रहेका मकवानपुरका ८ वटा पालिकाहरुमा भाद्र १५ सम्म अधिवेशन सम्पन्न गरी सक्ने निर्णय गरेको छ ।
यसैगरी बैठकले एक पालिका एक रचनात्मक अभियान संचालन गर्ने, “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” एक युवा, पाँच बिरुवा राष्ट्रीय अभियान, पालिक स्तरीय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने, १६ देखि २४ वर्ष उमेरका युबाहरू लाई संगठनको सदस्यता वितरण गर्ने लगायत अभियानका कार्यक्रमहरू संचालन गर्ने निर्णय गरेको छ ।
युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतीको अध्यक्षतामा भएको बैठकमा संघका केन्द्रीय उपाध्यक्ष एवम् बागमती प्रदेशका उत्प्रेरक सिता सूबेदीको प्रमुख आतिथ्यता तथा संघका सचिव जय गुरुङको विशेष आतिथ्यतामा भएको थियो ।
बैठकमा नेकपा एमाले पार्टी जनसंगठन समन्वय संयन्त्रका सहइन्चार्जद्वय आरती पाठक र रमिला सापकोटा, एमाले मकवानपुरका युवा इन्चार्ज सन्तोष चौलागाईं, संघका हेटौड़ा उपमहानगर इन्चार्ज निरोज पौडेल, बागमती प्रदेश कमिटीका कोषाध्यक्ष नरेन्द्र भण्डारी लगायतको उपस्थिती रहेको थियो ।
