माओवादीले भदौदेखि ‘जनतासँग पार्टी अभियान’ चलाउने
काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी भदौ महिनादेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान संचालन गर्ने भएको छ ।
बुधबार सुरु पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै भदौ, असोज र कात्तिक महिनामा ‘जनतासँग पार्टी अभियान’ संचालन गर्ने जानकारी गराएका हुन् ।
त्यस्तै, अभियानका क्रममा देशभरका सबै ६ हजार ७४३ वटै वडा समिति गठन गर्ने, सबै जातीय मोर्चाले आफ्नो जनसंख्याको कम्तीमा १० प्रतिशतलाई संगठित गर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सो अभियानमा सबै समिति डिजिटल बनाउने, वार्षिक कार्यतालिका बनाउने, मंसिरमा विधान सम्मेलन गर्ने, सचिवहरुले प्रदेशको जिम्मेवारी लिने र सबै केन्द्रीय सदस्य वडा तहमा पठाउने पनि माओवादीको योजना छ ।
यो समयमा विचार मिल्नेसँग एकता गर्ने, एकतामा संख्या भन्दा विचारमा जोड दिने, कार्यकर्ता सामूहिक कोष बनाउने पनि अध्यक्ष प्रचण्डले बताए । साथै उनले माओवादी केन्द्रले जितेका १२२ वटा स्थानीय तहलाई नमुना बनाउने बताए ।
