अवैध लागूऔषधसहित चार पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १७, बुधबार ०९:१६
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले देशको विभिन्न स्थानबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले सुनसरी, धनकुटा, नवलपरासी(पश्चिम) र मोरङ गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेबाट मंगलबार अवैध लागूऔषध गाँजा ५९ किलोग्रामसहित भारत अररिया नरपथगंजथापा तामगंज–४ बस्ने २२ वर्षीय मुन्ना कुमार मण्डललाई पक्राउ गरेको छ । अस्थाई प्रहरी पोष्ट तीनकुनेबाट खटिएको प्रहरीले काठमाडौंबाट भारततर्फ जाँदै गरेको बीआर १० के २९३३ नम्बरको भारतीय गाडीलाई जाँच गर्ने क्रममा फल्स वटमभित्र लुकाइ राखेको उक्त गाँजासहित उनलाई पक्राउ गरेको हो ।

उता, धनकुटाको छथरजोरपाटी गाउँपालिका–६ डेरा गरी बस्ने सोही गाउँपालिका–५ परेवादिन घर भएका २३ वर्षीय फुर्सुदी शेर्पालाइ प्रहरीले मंगलबार लागूऔषध स्पासपेन १ हजार ५ सय ५५ क्यापसुल र ट्रामोल १ हजार १ सय ५८ क्यापसुलसहित पक्राउ गरेको छ । प्रहरी चौकी सिधुवाबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस्तै, नवलपरासी (पश्चिम) को बर्दघाट नगरपालिका–१४ नारायणचोकबाट नियन्त्रित लागूऔषध बुप्रोनोर्फिन २४ एम्पुल, डाइजेपाम २४ एम्पुल र प्रोमेथाजिन हाइड्रोक्लोरिड २३ एम्पुलसहित मंगलबार चितवनको भरतपुर महानगरपालिका–१ बस्ने ३५ वर्षीय राजु श्रेष्ठलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१६ हुलास चोकबाट नियन्त्रित लागूऔषध लुपिजेसिक ७ एम्पुल, फेनारगन २ एम्पुल, एभिल ७ एम्पुल र डाइजेपाम ७ एम्पुलसहित प्रहरीले मंगलबा कानेपोखरी गाउँपालिका–४ बस्ने ३५ वर्षीय सुबिन राईलाई पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५१ प ४८२४ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जनाएको छ ।