माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने
काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आजदेखि सुरु हुने भएको छ । बैठक काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुने भएको हो ।
बैठक पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गर्ने कार्यक्रम छ । पाँच दिनसम्म संचालन हुने बैठकमा पेस हुने राजनीतिक तथा सांगठानिक प्रतिवेदनलाई ‘फाइनल टच’ दिन आज बिहान ८ बजे स्थायी कमिटी बैठक बस्दैछ ।
पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने सो बैठकले केन्द्रीय समितिमा पेस हुने राजनीतिक, सांगठानिक प्रतिवेदन पारित गरेपछि केन्द्रीय समितिमा प्रस्तुत हुनेछ ।
मङ्सिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक विषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।
सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी हुने माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।
