जबरजस्ती करणीपछि हत्या गरेको आरोपमा फरार हेटौंडाका राई पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १५, सोमबार १७:४८

मकवानपुर । नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार रहेका हेटौंडाका सोमबहादुर राई पक्राउ परेका छन् । ५ वर्षीय नाबालिकालाई जबरजस्ती करणीपछि हत्या गरेर फरार ४५ वर्षीय राई २० वर्षपछि शनिबार पक्राउ परेका हुन् ।

हेटौंडा–११, सिमलटार निवासी राई ललितपुरको गोदावरी नगरपालिका–१४ बाट पक्राउ परेका हुन् । उनलाई जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरी टोलीले गरेको हो ।

प्रहरीका अनुसार, २०६० साल असोज १८ गते हेटौंडा–११, सिमलटारका प्रेमबहादुर थापा क्षेत्रीको ५ वर्षीय नाबालिका छोरीलाई राईले जबरजस्ती करणीपछि हत्या गरेका थिए । नाबालिकाको शव भोलिपल्ट हेटौंडा–१० स्थित राप्ती खोलामा ढुङ्गाले च्यापिएको अवस्थामा फेला परेको थियो ।

पक्राउ परेका राईलाई जिल्ला अदालत मकवानपुरबाट ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।