आज विश्व बाघ दिवस मनाइँदै

तु खबर संवाददाता
२०८० श्रावण १३,शनिबार ०८:२२
file-photo

काठमाडौं । आज विश्व बाघ दिवस । दिवसका अवसरमा यस वर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

यसवर्षको यो दिवसको नारा ‘मानव–बाघ सहअस्तित्व’ रहेको छ । दिवसकै अवसरमा बाघसम्बन्धी दश वर्षे (सन् २०२३–३२) कार्ययोजना सार्वजनिक गर्न लागिएको वन तथा वातावरण मन्त्रालयअन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।

पाटे बाघ संरक्षणको महत्वबारे जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष जुलाई २९ मा ‘विश्व बाघ दिवस’ मनाइँछ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित अन्तर्राष्ट्रिय बाघ मञ्चले यस्तो घोषणा गरेको हो । उक्त मञ्चमा पहिलो विश्व बाघ सम्मेलन भएको थियो ।

पाटे बाघ विश्वका १३ देशमा पाइन्छन् । ती मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सन् २०१० मा सेन्टपिटर्सवर्गमा भएको सम्मेलनले बाघको सङ्ख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता व्यक्त गरेको थियो ।