प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ इटालीको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कने भएका छन् ।
संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’ मा सहभागी हुन गत साउन ६ गते त्यसतर्फ प्रस्थान गरेका उनी आज स्वदेश फर्कने भएका हुन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपसँग जुध्न तथा अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताएका थिए ।
सो क्रममा उनले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’ लाई पनि सम्बोधन गरेका थिए । भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो ।
यस्तै, उनले विभिन्न संघसंस्थाका प्रतिनिधिहरुसँग भेटवार्ता भएका थिए । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण दलमा उनका स्वकीय सचिव एवम् छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत, सुरक्षाकर्मी एवम् सञ्चारकर्मीलगायतको सहभागिता रहेको थियो ।
