अवैध लागूऔषधसहित चार जना पक्राउ
काठमाडौं । प्रहरीले अवैध लागूऔषधसहित विभिन्न जिल्लाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कपिलवस्तु, नवलपरासी (पूर्व) र सप्तरी गरी तीन छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले कपिलवस्तुको यशोधरा गाउँपालिका–६ पुर्निहवा चोकबाट अवैध लागूऔषध ब्राउनसुगर करिब ८ ग्रामसहित २ जनालाई शुक्रबार बिहान पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रूपन्देही सैनामैना नगरपालिका–२ पेरिसडाँडा बस्ने २८ वर्षीय बिकाश खत्री क्षेत्री र रूपन्देही शुद्धोधन गाउँपालिका–२ खैरेनी बस्ने २६ वर्षीय सबिक घर्ती मगर रहेका छन् । प्रहरी चौकी रंगपुरबाट खटिएको प्रहरीले पैदल हिँडिरहेका उनीहरुलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
यता, नवलपरासी (पूर्व) को बिनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन ५० एम्पुल, डाईजेपाम ५० एम्पुल र फेनारगन ५० एम्पुलसहित नवलपरासी (पश्चिम) बर्दघाट नगरपालिका–१२ भटौलिया बस्ने ३३ वर्षीय धिरज चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी दाउन्नेबाट खटिएको प्रहरीले मधेस प्रदेश ०३–००१ ख ७५२४ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी, सप्तरीको सुरुङ्गा नगरपालिका–२ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा ३०० ग्रामसहित सोही नगरपालिका–२ हनुमान चोक बस्ने २२ वर्षीय मनिस चौधरीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
