बाघको छालासहित २ जना पक्राउ
धनगढी । कैलालीमा बाघको छालासहित प्रहरीले बिहीबार दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको गोदावरी नगरपालिका–२ रिङरोडबाट बाघको छालासहित दुुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा बैतडीको दोगडाकेदार गाउँपालिका–२ का ६५ वर्षीय देवसिंह विष्ट र पाटन नगरपालिका–८ का ३० वर्षका हर्कबहादुर विष्ट रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।
प्रहरीका अनुसार, उनीहरुको साथबाट ६ फिट ११ इन्च लम्बाइ र २ फिट ४ इन्च चौडाइको बाघको छाला बरामद भएको छ । विशेष सूचनाका आधारमा संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगर र इप्रका मालाखेतीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
दुवै जनालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
