अवैध लागूऔषधसहित ९ जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण ३, बुधबार १६:२६
सांकेतिक तस्बिर

काठमाडौं । प्रहरीले छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ । प्रहरीले कैलाली, मोरङ, झापा, सुनसरी र चितवन गरी चार छुट्टाछुट्टै जिल्लाको विभिन्न स्थानबाट लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले कैलालीको टिकापुर नगरपालिका–१ समितिपुरबाट अवैध लागूऔषध खैरो हेरोईन २५० मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय नबिन थापालाई मंगलबार दिउँसो पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिंडिरहेका नबिनको शरीर तलासी गर्दा उक्त परिमाणको लागूऔषध फेला परेपछि निजलाई पक्राउ गरिएको हो ।

यसैगरी, कैलालीको जानकी गाउँपालिका–१, तोरैयापुरबाट अवैध लागूऔषध खैरो हेरोईन १ ग्राम ९ सय २० मिलिग्रामसहित सोही ठाउँ बस्ने २५ वर्षीय ओमकार चौधरीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यस्तै, प्रहरीले मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बस्ने २४ वर्षीय अनिल भट्टराईलाई अवैध लागूऔषध ब्राउनसुगर ८ सय ६० मिलिग्रामसहित मंगलबार दिउँसो पक्राउ गरेको छ । अनिलको घरमा लागूऔषध बिक्रिबितरण भइरहेको भन्ने विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषधसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यसैगरी, मोरङको बिराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट अवैध लागुऔषध ब्राउन सुगर २ ग्राम ४० मिलिग्रामसहित सुनसरी धरान उपमहानगरपालिका–३ बस्ने २६ वर्षीय सगर सहनीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका सहनीलाई लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यसैगरी मोरङ, पथरीशनिश्चरे नगरपोलिका–१० बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १६ चक्कीसहित सोही ठाउँ आफ्न्तकोमा बस्ने उदयपुर चौदण्डी नगरपपालिका–३ घर भएका १९ वर्षीय बिबस मगरलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाको बाह्दशी गाउँपालिका–६ मोतिगडाबाट अवैध लागूऔषध ब्राउन सुगर ग्राम २ सय ५० मिलिग्राम, डिजिटल ताराजु १ थान र नगद ३ हजार ६ सय रुपैयाँसहित सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले बा.२६ प ३६३८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक तामाङको साथबाट १ ग्राम २ सय ५० मिलिग्राम र उनको घर तलासी गर्दा १ ग्राम गरी उक्त परिमाणको पदार्थ, तराजु र नगदसहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यता, चितवनको राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध गाँजा करिब ६० केजीसहित भारत झारखण्ड कोर्डमा बस्ने ३५ वर्षीय मनोज कुमार पासवान समेत २ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको प्रहरीले एमएच ४८ एवाइ ४७०९ नम्बरको गाडी जाँच गर्ने क्रममा उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको इटहरी उपमहानगरपालिका–१२ बस्ने ३० वर्षीय अनिष रानालाई अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ३ सय मिलिग्राम, नगद २ हजार ५ सय ५० रूपैयाँ, १ हजार भारतीय रुपैयाँ र लागूऔषध नाप्ने डिजिटल तराजु १ थानसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

ती सबै घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।