पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ
बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का ३० वर्षीय सुनिल चुनारा, अछामको पञ्चदेवल गाउँपालिका–२ का ३६ वर्षीय लोकेन्द्र शाही र जाजरकोटको बारकोट गाउँपालिका–३ का ५२ वर्षीय कर्णबहादुर रोकाय रहेका छन् ।
उनीहरुलाई प्रहरीको लुम्बिनी प्रदेश अनुसन्धान ब्यूरो र इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले पक्राउ गरेको हो ।
छालाको लम्बाइ नौ फिट आठ इञ्च रहेको छ । घाँटीमा दुई ठाउँमा गोलीको प्वाल फेला परेको छ । बरामद गरिएको हड्डी कतिवटा बाघको हो भन्नेबारे अनुसन्धान भइरहेको जनाइएको छ ।
पक्राउ परेका चारै जनामाथि डिभिजन वन कार्यालयले आवश्यक अनुसन्धन गरिरहेको जनाएको छ ।
