बागमती प्रदेश सरकारद्वारा कर्मचारीको बढुवा

तु खबर संवाददाता
२०८० असार २०, बुधबार १५:२६
file-photo

मकवानपुर । बागमती प्रदेश सरकारले पहिलो पटक प्रदेशमा नै कार्यरत २ कर्मचारीलाई एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको छ । सरकारको बुधबार बिहान बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

निजामती सेवा ऐन जारी नभएको अवस्थामा प्रदेश सरकारले सो निर्णय गरेको हो । सो बैठकले प्रदेशमा नै दरवन्दी कायम रही शिक्षा तथा प्रशासन सेवामा कार्यरत २ कर्मचारीलाई प्रदेश सचिव सरह रहने गरी एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार, बैठकले प्रदेश निजामती सेवा ऐन, २०७९ को दफा १५ को उपदफा १ बमोजिम डा. चन्द्रप्रसाद लुइँटेल र पूर्णबहादुर दर्जीलाई शिक्षा एवम् प्रशासन सेवातर्फ एघारौं तहमा बढुवा गर्ने निर्णय गरेको हो । बैठकले प्रमुख प्रतिपक्षीलगायतसँग सहमति भएअनुसार छुट्न गएका योजनाहरू समावेश गर्ने निर्णय समेत गरेको उनले बताए ।

यसैगरी, बैठकले पर्यटन उद्योग तथा सहकारी मन्त्रालय अन्तर्गतको पर्यटन विकास आयोजना, हेटौंडा र पर्यटन विकास आयोजना, इकाई कार्यालय, काठमाडौंको २०८० श्रावणदेखि २०८२ असार मसान्तसम्म २ वर्षको लागि म्याद थप्ने निर्णय गरेको उनले बताए ।

त्यस्तै, बैठकले दोलखाको जिरी नगरपालिकामा संचालन हुने मानवनिर्मित पर्यटकीय ताल निर्माण आयोजनाका लागि जग्गा प्राप्ति ऐन २०३४ को उपदफा (क) बमोजिम करिब ५४१.२३ रोपनी व्यक्तिगत जग्गा प्राप्ति गर्न जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय, दोलखाबाट प्रारम्भिक कारबाही चलाउने गरी सो कार्यालयका प्रमुखलाई जिम्मेवारी समेत तोकिएको छ ।