हेटौंडाका थोकरलाई ४४ वर्ष कैद सजाय
मकवानपुर । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरबाट ४४ वर्ष कैद सजाय ठहर भई फरार भएका हेटौंटाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ बस्ने ३३ वर्षीय सूर्य थोकर भन्ने सूर्य बहादुर थोकर रहेका छन् । थोकरलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले उदयपुर त्रियुगा नगरपालिका–१२ गाईघाटबाट आइतबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, थोकर समेतका प्रतिवादीहरुले २०६८ असोज २६ गते राति एक महिलालाई घरमै पालैपालो बलात्कार गरी धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए ।
कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत मकवानपुरको २०७८ बैशाख ५ गतेको फैसलाले ज्यान मारेकोतर्फ २० वर्ष, ज्यान मार्ने षडयन्त्र गरेतर्फ १२ वर्ष, जबरजस्ती करणी गरेतर्फ ७ वर्ष र सामूहिक रुपमा जबरजस्ती करणी गरेतर्फ ५ वर्ष गरी ४४ वर्ष कैद सजाय ठहर गरेको थियो ।
पक्राउ परेका उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मकवानपुरमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय भीमफेदी पठाएको जनाइएको छ ।
