‘हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकै हो’

तु खबर संवाददाता
२०८० असार १४, बिहीबार १६:५७

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्र्तगतनै भएको बताएका छन् । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेश्रो वार्षिकोत्सव समारोहमा बोल्दै मुख्यमन्त्री जम्मकट्टेलले यस्तो बताएका हुन् ।

मानिसहरुमा हेटौंडा अस्पताल र मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान फरक रहेको भ्रम छरिएको भन्दै उनले हेटौंडा अस्पताल मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतकै रहेको स्पष्ट पारेका हुन् ।

मुख्यमन्त्री जम्मकट्टेलले प्रतिष्ठानलाई सरकारले गौरवको योजनाको रुपमा राखेर काम अघि बढाएको भन्दै बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे ।

कतिपय राजनीतिक विषयहरुले कहिलेकाँही समस्यामा पार्ने भन्दै त्यस्ताखाले समस्यालाई छलपलद्वारा समाधान गर्नुपर्नेमा उनले जोड दिए ।

प्रदेश सरकार निर्माण पश्चात बागमतीको १३ वटै जिल्लाको स्वास्थ्य क्षेत्रको अवस्थामा ब्यापक सुधार आएको बताउँदै प्रदेश सरकारले स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आवश्यक सम्पूर्ण सहयोग गर्ने दृढता व्यक्त गरे ।