मंगलबार स्थगित बागमती प्रदेश सभाको बैठक आज बस्दै

किन स्थगित भयो मंगलबारको प्रदेश सभा बैठक ?
तु खबर संवाददाता
२०८० असार १३, बुधबार ०८:०९

मकवानपुर । मंगलबार स्थगित बागमती प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । मंगलबार साँझ ६ बजे बस्ने गरी बोलाइएको प्रदेश सभाको तेस्रो बैठक विशेष कारण स्थगित गरी आजका लागि आह्वान गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विनियोजित बजेट २०८०–०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेपछि मंगलबार साँझको बैठक स्थगित गर्न परेको प्रदेश सभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।

उक्त सचिवालयले बैठक स्थगित भएको सूचना सार्वजनिक गरी जानकारी गराएको थियो ।

किन स्थगित भयो मंगलबारको प्रदेश सभा बैठक ?

मंगलबार बसेको दोस्रो बैठकमा सभामुख भुवनकुमार पाठकले प्रदेश सरकारको तर्फबाट सार्वजनिक भएको अनुमानित बजेटमाथि छलफल गरियोस् भनि प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामालाई समय दिएका थिए ।

सभामुख पाठकले मन्त्री लामालाई प्रस्ताव टेबुल गर्न समय दिएलगतै प्रमुख प्रतिपक्ष दल नेकपा एमाले र प्रतिपक्ष दल राप्रपाका सांसदहरुले विरोध जनाएका थिए । मन्त्री लामाले बजेटमाथि छलफल गरियोस् भनि प्रस्ताव टेवुल गरेर फर्किदा समेत उनीहरुले आफ्नो आसनबाट उठेर विरोध जनाइरहेका थिए ।

त्यसपछि सभामुख पाठकले प्रमुख प्रतिपक्षको तर्फबाट नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलियालाई बोल्नलाई समय दिए ।

आर्थिक वर्ष २०८०–०८१ को बजेटमाथि छलफल सुरु गरियोस् भनि राखेको आह्वानलाई प्रतिपक्ष दलहरुबाट विरोध जारी नै राखेपछि सभामुख पाठकले बैठक ६ बजेपछि बस्ने गरी स्थगित गरेका थिए ।

मंगलबार ६ बजे बस्ने भनिएको बैठक भने विनियोजित बजेट २०८०–०८१ कोे सम्बन्धमा सत्तापक्ष र प्रतिपक्ष बीच बैठक संचालन गर्ने सम्बन्धमा विभिन्न चरणमा छलफल भएपनि सहमति हुन नसकेको भनि सूचना सार्वजनिक गरेर स्थगित गरिएको थियो ।

यस्तै, मंगलबार नै बसेको प्रदेश सभाको पहिलो बैठकमा प्रदेश सभा अन्तरगत रहेको विभिन्न पाँच वटा समितिका सदस्यहरुको नाम सार्वजनिक गरिएको थियो ।

उक्त बैठकमा सभामुख पाठकले प्रदेश मामिला समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समितिका सदस्यहरुको नाम अनुमोदन भएको घोषणा गरेका थिए ।