भोलिदेखि काठमाडौंमा भारतीय चलचित्र प्रदर्शनमा रोक

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १८:३५
file-photo

काठमाडौं । भोलिदेखि काठमाडौं महानगरपालिकामा भारतीय चलचित्र प्रदर्शनमा रोक लगाइने भएको छ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमार्फत काठमाडौं महानगरमा भोलिदेखि कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न रोक लगाइएको जानकारी गराएका हुन् ।

उनले यसअघि भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको जानकी भारतीय छोरी हुन् भन्ने आपत्तिजनक सन्देश उक्त चलचित्रको मूल भागबाट हटाउन ३ दिन पहिले हटाउन आग्रह गरेका थिए ।

शाहले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘नेपालको संविधानको धारा ५ र ५६ को उपधारा (६) ले संघ, प्रदेश र स्थानीय सरकारलाई राष्ट्रिय हितको संरक्षण गर्ने जिम्मेवारी तोकेको छ । उक्त चलचित्र यथावत् प्रदर्शन भएमा नेपालको राष्ट्रियता, सांस्कृतिक एकता र राष्ट्रिय विभुती माथि ठाडो प्रहार भई अपूरणीय क्षति हुने देखिन्छ । उक्त चलचित्रबाट नेपाल माथि सांस्कृतिक अतिक्रमण भएको हुँदा यस महानगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’

उनले उक्त चलचित्रबाट आपत्तिजनक अंश नहटाएसम्म काठमाडौं महानगरमा कुनै पनि भारतीय चलचित्र प्रदर्शन गर्न भोलिदेखि निषेध गरिएको स्पष्ट गरेका छन् ।