‘मुख्यमन्त्रीलाई कालो झण्डा देखाउँछौँ, सार्वजनिक रुपमै बहिस्कार गर्छौँ’

तु खबर संवाददाता
२०८० असार २,शनिबार १५:०९

मकवानपुर । हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेबाट निर्वाचित वडा अध्यक्षहरुले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई कालो झण्डा देखाउने बताएका छन् ।

शनिबार पत्रकार सम्मेलनमार्फत् उनीहरुले मुख्यमन्त्रीलाई कालो झण्डा देखाउने र प्रदेशका मन्त्रीहरुलाई बहिस्कार गर्ने बताए ।

शुक्रवार सार्वजनिक भएको बागमती प्रदेशको बजेटमा प्रदेशको राजधानी रहेको हेटौंडाको विकास निर्माणको लागि कुनै बजेट विनियोजन नगरेको भन्दै उनीहरुले आपत्ती जनाए ।

पत्रकार सम्मेलनमा बोल्दै हेटौंडा–१४ का वडाध्यक्ष दीपक खड्काले राजधानीको विकासका लागि बजेट विनियोजन नगरेको भन्दै आफूहरुले प्रदेशका मन्त्रीहरुलाई सार्वजनिक कार्यक्रममा कालो झण्डा देखाउने र बहिष्कार गर्ने तयारीका साथ अघि बढ्ने तयारीमा रहेको बताएका छन् ।