हेटौंडा उपमहानगरको बजेट ११ करोड घट्यो

तु खबर संवाददाता
२०८० असार २, शनिबार १४:१४

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको भन्दा आगामी आर्थिक वर्षको लागि करिब ११ करोड रुपैयाँ कम बजेट सार्वजनिक गरेको छ ।

शनिवार १३ औँ नगरसभामा बढ्दो आर्थिक मन्दी र घट्दो राजस्व संकलनलाई मध्यनजर गर्दै आगामी आर्थिक वर्ष २०८०/०८१ को लागि बजेटको आकार घटाएर सार्वजनिक गरेको हो ।

उपमहानगरले आगामी आर्थिक वर्षका लागि २ अर्ब ६० करोड ६५ लाख ४० हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ ।
हेटौंडाका उपमेयर राजेश बानियाँका अनुसार अनुमानित बजेटमध्ये खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

उपमहानगरको १३ औं नगरसभामा प्रस्तुत गरिएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था अनुसार सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ ।

उपमहानगरले एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको छ ।