वानएक्स बेटमार्फत करोडौंको कारोबार गर्ने ५ जना पक्राउ
काठमाडौं । विश्वमा संचालन हुने विभिन्न खेल तथा अनलाइन गतिविधिमा सट्टेबाज (जुवा) खेल्न प्रयोग हुने ‘वान एक्स बेट’ मार्फत ६४ करोड रुपैयाँको अवैध कारोबार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले वानएक्स बेटमार्फत ६४ करोड रुपैयाँ बराबरको कारोबार गरेको आरोपमा कैलाली घर भई हाल चाबहिलका दिनेश खड्कालाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।
२०७८ माघमा विदेशी विनिमय अपचलमा पक्राउ परेर २५ लाख धरौटीमा छुटेका खड्काले राम बिलाश डिथारु, तेज बहादुर ठयात खडका, नवीन चौधरी, अनिता धितालको नामका कागजातहरु प्रयोग गरी विभिन्न बैंकमा ६३ वटा खाता खोलेका थिए । ती मध्ये १२ वटा खातामा हालसम्म ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले खड्कासँगै धिताल, भक्तपुरका दिपेश श्रेष्ठ, पेप्पीकोला बस्ने दिनेश चन्द र नागार्जुन नगरपालिका–२ बस्ने आशिष लामिछानेलाई पनि पक्राउ गरेको सार्वजनिक गरेको छ । पक्राउ मध्येका श्रेष्ठ भर्खरै मात्र भारतमा चाटर्ड एकाउन्ट पढेर नेपाल फर्किएका थिए ।
उनले ९८०८३२२००२, ९८५१०८५५३९, ९८१३०४३१२४ र ९८५११३४२३९ मोबाइल नम्बरमार्फत ई–सेवामा क्रमशः ९० लाख १२ हजार, ८२ लाख १९ हजार, २९ लाख २१ हजार र २८ लाख पाँच हजार जम्मा गरेका थिए । जम्मा गरेको रकममध्ये ५९ लाख २९ हजार भने कारोबार गरिसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठ वानएक्स बेटका एजेन्ट हुन् ।
यस्तै, पक्राउ मध्येकै लामिछाने एनआइसी एसिया बैंक, ग्लोबल आइएमई बैंक, सनराईज बैंक, महालक्ष्मी विकास बैंकमा क्रमशः एक करोड ४० लाख, एक करोड एक लाख ६१ हजार, ९५ लाख तीन हजार, ४० लाख ५३ हजार गरी दुई करोड ९८ लाख ९६ हजार रुपैयाँ कारोबार गरेको देखिन्छ । वानएक्स बेट चलाएका यी पाँच जनाबाट मात्रै अहिलेसम्म ७४ करोड १३ लाख ५० हजार बराबरको कारोबार भएको देखिने प्रहरीले जनाएको छ ।
प्रहरीले पक्राउ परेकाहरुको साथबाट ३५ लाख नगद, चार थान ल्यापटप, ३४ वटा सीमकार्ड, सात वटा मोबाइल, ६ वटा नागरिकता, १४ वटा विभिन्न बैंकका चेकबुक, पाँच वटा विभिन्न बैंकका एटिएमकार्ड र दुई वटा राउटर बरामद गरेको छ ।
उनीहरुले क्रिप्टो करेन्सीको कारोबार गरेको प्रमाणसमेत फेला परेकाले राष्ट्र बैंक ऐन र जुवा ऐनबमोजिम मुद्दा अघि बढाउने तयारी गरेको प्रहरीले जनाएको छ ।
