प्रचण्ड र बाबुरामविरुद्धको रिटको सुनुवाइ आज हुने

तु खबर संवाददाता
२०८० जेष्ठ ३०, मंगलवार १०:०१

काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) विरुद्ध परेको मुद्दाको सुनुवाई आज हुने भएको छ ।

माओवादीका पूर्वलडाकु लेनिन विष्टले माओवादी जनयुद्धकालमा बाल सैन्यको रूपमा भर्ती गरी अयोग्य लडाकुको बिल्ला भिराई शिविरबाट निकालेर युद्ध अपराध गरेको जिकिर गर्दै सर्वोच्च अदालतमा आइतबार मुद्दा दायर गरेका हुन् ।

विष्टले सशस्त्र द्वन्द्वको समयमा आफूहरूलाई बाल सेना बनाएर प्रवेश गराएको र पछि बेवास्ता गरेको भन्दै मुद्दा दिएका थिए । रिटमा माओवादीका अध्यक्ष प्रचण्ड, पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसमेतलाई विपक्षी बनाइएको छ ।

तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीले आफूहरूलाई बाल सैन्यका रूपमा प्रयोग गरेर विस्तृत शान्ति सम्झौतापछिका साढे १६ वर्षसम्म पनि न्याय दिलाउने कार्य नगरेको भन्दै रिट निवेदकहरूले तत्काल आफूहरूलाई बालसेनाको पहिचान दिई परिपूरण, क्षतिपूर्ति, न्याय लगायतका काम कारबाही तत्काल गर्नू गराउनू भनेर अन्तरिम आदेशको माग गरेका छन् ।