हेटौंडामा नमूना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी नमूना संसद अभ्यास कार्यक्रम सम्पन्न भएको छ । प्रदेश युवा परिषद् बागमतीको आयोजनामा गत मंगलबारबाट सुरु भएको उक्त कार्यक्रम आज सम्पन्न भएको हो ।
समापन कार्यक्रम प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको अध्यक्षता एवम् प्रदेश युवा परिषद्की अध्यक्ष तथा प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा भएको हो ।
नमूना युवा संसद अभ्यास कार्यक्रमको प्रशिक्षण तथा सहजीकरण श्याम काजी खत्री र सुजिता थिङले गरेका थिए । कार्यक्रममा बागमती प्रदेशको १३ जिल्लाका ४५ जना युवाहरुको सहभागिता रहेको थियो ।
नमूना युवा संसद अभ्यासको क्रममा नमूना युवा संसद्को नमुना प्रदेश प्रमुख, प्रदेश सभामुख, उपसभामुख, मुख्यमन्त्री, विभिन्न विषयका मन्त्री, प्रतिपक्ष दलका नेता लगायतको चयन गरी अभ्यास गरिएको थियो ।
यस्तै, नमूना युवा संसद अभ्यासको अवधारणा, व्यवस्थापिका, कार्यपालिका, न्यायापालिकाको काम, कर्तव्य र अधिकारको विषय, संसद भित्र हुने नियम कानुनहरु प्रक्रिया, नीति तथा कार्यक्रमको प्रस्तुति, बजेटको घोषणा, विधेयक पेश र पारित गर्ने लगायतका विषयमा सहजीकरण गरिएको थियो ।
