हिरासतको वाल भत्काएर भागेका व्यक्ति पुनः पक्राउ
धनुषा । धनुषामा प्रहरीको हिरासत कक्षको वाल भत्काएर भागेका फरार व्यक्ति पुनः पक्राउ परेका छन् ।
शनिबार बिहान साढे १० बजे भारतबाट सितामढी आउँदै गरेका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका–२ रमदैयाका २५ वर्षीय रोशन यादव रहेका छन् ।
उनीसहित ६ जना गत माघ १६ गते बिहान साढे ३ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाको हिरासत कक्षको वाल भत्काएर भागेका थिए ।
उनीहरूमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । सार्वजनिक शान्तिविरूद्धको अपराध मुद्दाका आरोपित यादवलाई पनि प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीमाथि पनि थप अनुसन्धान अघि बढाएको जनाएकोे छ ।
